सुर्खेत । काठमाण्डौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्ममितिको कागजात अस्पतालबाट झिकाउन आदेश दिएको छ ।
आज मङ्गलवार काठमाण्डौ जिल्ला अदालतले लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन् । लामिछानेविरुद्धको मुद्दाको बारेमा अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने आदेश दिएको उनले सुनाए ।
अधिवक्ता घिमिरेले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको हो । अदालतले पीडित भनिएकी युवतीका दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको हो ।
फरकबाटो १२ पुष २०७९, मंगलवार १९:१३