दलहरु समानुपातिक सूची सच्याउँदै, नयाँ सरकार गठनको प्रक्रिया यही हप्ता सुरु हुने


सुर्खेत । दलहरुले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको नाम सच्याएर आज फेरि पेस गर्दैछन् । बन्दसूचीबाट नाम छनोट गर्दा कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले त्रुटि गरेकाले फेरि सच्याएर पठाउनुपर्ने भएको हो ।

निर्वाचन आयोगले हिजो दलहरुलाई पत्राचार गरेर समावेशी समूह अनुसार सच्याएर पठाउन आज दिउँसो ४ बजेसम्मको समय दिएको छ । दलहरुले आयोगमा पठाएको नाममा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।

नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्नेछ । आज दलहरूले बन्दसूची सच्याएपछि आयोगले आउँदो बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको परिणाम बुझाउने तयारी गरेको छ ।

आयोगबाट निर्वाचन परिणाम औपचारिकरुपमा प्राप्त गरेसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्नेछ । चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसकेकाले केन्द्र र प्रदेशमासमेत दुई वा दुईभन्दा बढी दल मिलेरै सरकार गठन गर्नुपर्ने भएको छ ।

सत्ता गठबन्धनका दलहरुले नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहे पनि पद बाँडफाँटलगायत विषयमा औपचारिक छलफल भैसकेको छैन । अब केन्द्र तथा प्रदेशमा सरकारको गठनसँगै प्रतिनिधि तथा प्रदेश सभाको सभामुख तथा उपसभामुख चयन र राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया पनि सुरु हुनेछ ।