अवधि समाप्त हुनु अघि नै श्रम स्वीकृति नवीकरण गरौँ : दूतावास


सुर्खेत । कतारमा कार्यरत श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट समेत वञ्चित भइने भन्दै दूतावासले श्रम स्वीकृतिको अवधि सकिनु अघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ भने विदेश जानु पूर्व श्रम स्वीकृति लिने बेलै गरेको बिमामार्फत पनि रकम पाइन्छ । तर समयमा श्रम नवीकरण नगराएमा श्रम स्वीकृतिको म्याद सकिए पछि कुनै दुर्घटना भएमा यस्तो सहायता पाइँदैन ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था छ । एक पटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी घर फर्किएर पुनः त्यही काममा फर्कँदा यदि श्रम स्वीकृतिको अवधि सकिएको भएमा अनिवार्य रूपमा श्रम नवीकरण गर्न पर्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा लग इन गरी संसारको जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

यस्तै श्रम स्वीकृति लिँदा कल्याणकारी कोष र बिमाबापत तिर्नु पर्ने रकम पनि अहिले त आफू रहेकै देशमा रहेको आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्डमा र बिमा कम्पनीहरूको खातामा सोझैँ पठाउन सकिन्छ ।

श्रम नवीकरण गर्नका लागि सिस्टममा लगइन गर्दा पासवर्ड बिर्सिएमा आफ्नो राहदानीको प्रतिलिपिसहित दूतावासमा इमेल गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।