सुर्खेतमा ६२ प्रतिशत मत खस्यो, सिम्तामा मतदान स्थगित , पुन:मतदान हुने

सांकेतिक तस्बिर

सुर्खेत । आज भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुर्खेत जिल्लाभर ६२ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर मतदान भएका स्थलहरुमा ६२ प्रतिशत मत खसेको हो ।

दुईवटा क्षेत्र रहेको सुर्खेत जिल्लाको क्षेत्र नं १ को सिम्ता बहुमुखी क्याम्पस राकममा भने मतदान स्थगित भएको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको मतपेटीकामा खसेपछि मतदान स्थगित भएको चालिसेले जानकारी दिए ।

मतदान स्थगित भएको सिम्ता बहुमुखी क्याम्पसमा निर्वाचन आयोगले तत्काल निर्वाचन मिति तोक्ने जानकारी दिएको छ । उक्त मतदान स्थलमा तिनवटा मतदान केन्द्र रहेका थिए । जसमा करिब २ हजार ८ सय बढी मतदाता रहेको आयोगको प्रदेश कार्यालयले बताएको छ ।

सिम्ता बहुमुखी क्याम्पसमा मतदान स्थगित भएपछि सुर्खेत क्षेत्र नं १ को मतगणना उक्त स्थलको पुन मतदान भएपछि हुने भएपनि सुर्खेत क्षेत्र नं २ को मतगणना भने सबै मतपेटीकाहरु आइसकेपछी हुने आयोगको प्रदेश कार्यालयले जानकारी दिएको छ । सुर्खेत सभा हलमा सुर्खेत क्षेत्र नं २ को मतगणनाको तयारी रहेको आयोगले बताएको हो ।