एमाले अध्यक्ष ओली आज सुर्खेतमा, जनसभालाई सम्बोधन गर्ने

सुर्खेत । नेकपा एमालेले आज (आइतवार) सुर्खेतको वीरेन्द्रनगरमा बृहत् चुनावी जनसभा गर्दैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

चुनावी सभामा हजारौँ जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार घण्टाघर पश्चिमपट्टीको मैदानमा हुने जनसभाका लागि सम्पूर्ण तयारी पुरा भएको छ । स्थानीय मंगलगढीचोकबाट बिहान ११ बजे ¥याली सुरु गरिने एमाले सुर्खेतले जनाएको छ ।

जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको साँस्कृतिक प्रस्तुतिसमेत रहनेछ । एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आज नै दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्ने छन् । अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा छन् । स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले देशव्यापी चुनावी अभियानलाई तिव्र पारेको छ ।