मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि  शुक्रबार प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ  र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।