सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस

काठमाडौं । नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा मंगलबार थुनछेक बहस हुँदैछ।

जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध जर्वजस्ती करणी आरोपमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। ;साथै उनको चलअचल सम्पत्ति रोक्का गर्न पनि अभियोगपत्रमा माग गरिएको छ।

आज न्यायाधीशसमक्ष लामिछनेको बयान हुनेछ र त्यसपछि थुनछेक बहस अघि बढ्नेछ। त्यसपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटी वा सामान्य तारेखमा छाड्ने आदेश दिनेछ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न वेष्ट इण्डिज पुगेका लामिछाने झण्डै एक महिनापछि असोज २० गते स्वदेश फर्किएका थिए। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।