पीएम कप : पुलिसको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश-१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।

प्रदेश-१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो  । पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए । शंकर रानाले २९ रन जोडे ।

राशिद खानले अविजित १६ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए । सुनिल धमला सुन्य रनमा आउट भए । प्रदेश-१ का फिर्दोस अन्सारी र सिदान्त लोहनीले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । प्रदेश-१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । विवेक आनन्द मेहेताले १७ रन जोडे ।

पुलिसका ललित राजवंशीले ५ विकेट लिए । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ ।

पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले हराएको थियो । प्रदेश-१ ले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।