दार्चुला घटना-ज्यान गुमाएका बालकको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान

सुर्खेत । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ ।

दार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुला प्रहरी प्रमुख तर्कराज पाण्डेले जानकारी दिए ।

एसडीएम कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा घाइते भएकी छिन् ।

यस्तै आगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ । यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले बालकको शव बुझ्ने भएका छन् । शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।