‘कान्तारा’ बन्यो ‘केजिएफ’पछि सर्वाधिक कमाउने कन्नड फिल्म

काठमाडौं । गत हप्तादेखि विश्वव्यापी प्रदर्शनमा आएको कन्नड फिल्म ‘कान्तारा’ केजिएफपछि सर्वाधिक कमाइ गर्ने कन्नड फिल्म बनेको छ। विश्वभरबाट १ सय ७० करोडभन्दा माथिको कमाइ गर्दै १६ करोड बजेटमा बनेको फिल्मले ठूलो व्यावसायिक सफलता पाएको हो।

३० सेप्टेम्बरमा कन्नड भाषामा मात्र रिलिज भएको फिल्मले दर्शक तथा समीक्षकको उत्साहजनक प्रतिक्रिया पाएपछि हिन्दी, तमिल, तेलुगु र मलयालम गरी ४ भाषामा डब गरेर दुई हप्तापछि विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो।

रिषभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य अभिनय रहेको फिल्मलाई केजिएफकै निर्माण कम्पनी होमबेल फिल्म्सले निर्माण गरेको हो।

‘कान्तारा’ यस वर्ष सय करोडभन्दा माथिको कमाइ गर्ने पाँचौँ फिल्म बनेको छ। जम्मा जम्मी कन्नड फिल्म उद्योगबाट ७ फिल्मले मात्र सय करोडभन्दा बढी कमाइ गरेका छन्।

यतिवेला ‘कान्तारा’ सर्वाधिक कमाइ गर्ने कन्नड फिल्मको सूचीमा तेस्रो नम्बरमा रहेको छ। ‘कान्तारा’ भन्दा पहिले केजिएफ फ्रेन्चाइजका दुई फिल्म रहेका छन्।

यसै वर्ष प्रदर्शनमा आएको केजिएफ च्याप्टर २ ले १२ सय करोड कमाइ गरेको छ भने केजिएफकै पहिलो च्याप्टरले २ सय ५० करोड कमाएको थियो। यसै वर्ष प्रदर्शनमा आएका विक्रान्त रोणा १ सय ५८ करोडसहित चौथो नम्बरमा, जेम्स १ सय ५० करोडसहित पाँचौँ र ७७७ चार्ली १ सय ५ करोडसहित छैटौँ नम्बरमा रहेका छन्।

एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा रिषभबाहेक किशोर, अच्युत कुमार, प्रमोद शेट्टी, सप्तमी ग्वधा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।