इन्डोनेसियाको मस्जिदमा आगलागी, भवन ध्वस्त

जकार्ता । इन्डोनेसियाको जकार्ता इस्लामिक सेन्टर ग्रान्ड मस्जिदमा आगलागी भएको छ। त्यसपछि मस्जिदको भवन ढलेको छ। गल्फ टुडेका अनुसार दुर्घटना अक्टोबर १९ मा स्थानीय समयअनुसार अपराह्न ३ बजे भएको थियो।

घटनामा कोही पनि हताहत नभएको जकार्ता ग्लोबले जनाएको छ। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो फुटेजमा मस्जिद भत्किनुभन्दा केही समयअघि भवनबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

एक अधिकारीका अनुसार मस्जिदमा जीर्णोद्धारको काम भइरहेको थियो। त्यसै वेला एक्कासी आगो लागेको थियो। आगो नियन्त्रणका लागि कम्तीमा १० वटा दमकल घटनास्थलमा पठाइएको थियो। घटनास्थलमा पुगेको प्रहरीले भने, ‘आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। मस्जिद मर्मत गरिरहेका ठेकेदार कम्पनीका चारजना कामदारलाई सोधपुछ गरिएको छ।’

समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार २० वर्षअघि अर्थात् सन् २००२ को अक्टोबर महिनामा यो मस्जिदमा आगलागी भएको थियो। त्यतिवेला पनि मर्मतको काम भइरहेको थियो। आगो निभाउन पाँच घण्टा लागेको थियो।