इरानको एक जेलमा भएको आगलागीमा चार जनाको ज्यान गयो

इरानको चर्चित जेल इभिनमा भएको आगलागीमा चार जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका इरानको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा कारागार क्षेत्रबाट धुवाँ र आगोको मुस्लो फैलिएको देखिन्छ । त्यहाँबाट गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको बीबीसीले जनाएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने इभिन जेल कुख्यात जेलका रुपमा चिनिन्छ ।

इरानमा केही हप्तायता सरकारविरोधी प्रदर्शन चलिरहेकाे छ । हिजाव अर्थात अनुहार ढाक्नेगरी कपडा नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी महसा अमिनिको गएको महिना प्रहरी हिरासतमा ज्यान गएपछि प्रदर्शन सुरु भएको हो ।

कारागारमा भएको आगलागी यो घटनासँग सम्बन्धित भए वा नभएको खुलेको छैन । प्रदर्शनमा सहभागी सयौँ मानिसहरूलाई यही जेलमा राखिएका कारण हिजाव विरोधी आन्दोलनसँग सम्बन्धित हुन पनि सक्ने खबरमा उल्लेख छ ।

इरानमा सरकारी संचार माध्यमले भने आगलागीको घटना प्रदर्शनसँग सम्बन्धित नभएको र आपराधिक तत्व संलग्न भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

कारागार आसपासको क्षेत्रमा इन्टरनेट सुविधा बन्द गरिएको छ । यस जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानव अधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।