नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसद्वारा प्रदेश नं. १ पराजित

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भइरहेको राष्ट्रिय महिला क्रिकेटमा बुधवारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नं. १ लाई पराजित गरेको छ।

पुलिस क्लबले ११८ रनले प्रदेश नं. १ लाई पराजित गर्दै आफ्नो लगातार दोस्रो जित निकालेको हो। पुलिसले निर्धारित २० ओभरमा ती विकेट गुमाएर १५८ रन बनायो। उसका लागि सम्झना खड्काले ६० र कविता कुँवरले ३७ रनको योगदान गरे।

पुलिसका लागि हिरणमयी राईले तीन र सबनम राईले एक विकेट लिएका थिए।

प्रदेश नं. १ का लागि निशा शाहले एक विकेट लिइन्। १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको प्रदेश नं. १ ले २० ओभरमा आठ विकेट गुमाएर ४० रन मात्रै बनाउन सक्यो। जसमा सानु राजवंशी र लकिता राजवंशीले समान ११/११ रन बनाए। टस जितेर प्रदेश १ ले फिल्डिङ रोजेसँगै पुलिसले शुरुमा ब्याटिङ गरेको थियो।

महिला क्रिकेटमा ९ टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् भने समूह ’बी’मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेका छन्। महिला क्रिकेट कात्तिक १ गतेसम्म हुनेछ।