राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन्। संसदका दुईवटै सदनबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका हुन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो। संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन।’

उनले संविधानबमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्ने उल्लेख गरेका छन्। संविधानको पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रहसमेत गरेका छन्।