सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्र मंगलगढी चोकदेखि गणेश चोकसम्म सडकका दुवै किनारमा नक्सापास नगरी बनेका अवैध संरचना नगरपालिकाले हटाउन थालेको हो ।
मुख्यबजार साँघुरो भएको र बजारको सुन्दरता समेत हराएको भन्दै नगरपालिकाले संरचना हटाउन ७ दिने सुचना जारी गरेको थियो ।
गत भदौ २१ गते जिल्लास्थित पुर्वाधार निर्माणसंग सम्बन्धित सरोकारवालासंग बसेको सर्वपक्षिय बैठकले बजार क्षेत्रको दुवैक्षेत्रका विद्युतका पोल तथा तार, अन्य निजि क्षेत्रका भौतिक संरचना हटाउन सुचना निकालेको थियो ।
नगरपालिकाले दिएको समयावधी सकिएपछि मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना हटाउन थालेको हो ।
१ हजार ७ सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार बुधबारदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।
‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको थियो । अवैध संरचनाका कारण निर्माण कामको काम सुरु गर्न नसकिएको प्रमुख तिवारीले सुनाए ।
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने तयारी गरेको छ ।
कर्णाली प्रदेश पुर्वाधार विकास निर्देशनालयले मंगलगढीे–गणेशचोक, वीरेन्द्रचोक–भानुचोक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचोक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नोती गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको हो । सबै सडक डबल लेनको निर्माण गरिने निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जानकारी दिए ।
इन्जिनियर शाहीले साइड क्लिरेन्स नगरिएको कारण गतवर्ष टेण्डर गरिएपनि काम गर्न नसकिएको बताए । उनका अनुसार करिब साढे १३ करोडको लागतमा यही वर्ष काम सक्नेगरी खड्का कन्सट्रक्सन बाँकेसँग सम्झौता भइसकेको छ ।
सडक १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी क्षेत्र पार्किङका लागि प्रयोग हुनेछ । बजार क्षेत्रमा रहेका अवैध संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन अनुसार अटेरी गरे कारबाही गर्ने नगरपालिकाले यसअघि नै सुचना प्रकाशन गरी चेतावनी समेत दिइसकेको छ ।
स्थानिय व्यवसायी, नागरिक, नगरपालिका र सबैले अवैध संरचना हटाउन सके कर्णाली प्रदेशको राजधानीको मुख्य बजारक्षेत्रको बाटो राम्रो हुने शाहीले तर्क गरे ।
फरकबाटो २९ भाद्र २०७९, बुधबार १६:५१