महिला साफ : आज दुई खेल

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् । महिला साफमा आज मंगलबार समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेलहरु हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद अन्त्यको योजनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल साँझ ५:३० मा सुरु हुनेछ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

समूह ‘बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।