५९ जना मिटरब्याजबाट मुक्त, ऋण लेनदेनकाे कागजात च्यातियाे

काठमाण्डौ । सरकारले मिटरब्याजीविरुद्ध कारबाही सुरु गरेपछि ५९ जना पीडित मिटरब्याजबाट मुक्त भएका छन् ।

सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेर कारबाही सुरु गरेपछि हिजो आइतवारसम्म ५९ जना पीडितसँग गरेको ऋण लेनदेनको कागज च्यातेर उनीहरूलाई मिटरब्याजबाट मुक्त गरिएको कार्यदलका संयोजक भीष्मकुमार भुसालले जानकारी दिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी र पीडित दुवै पक्षलाई राखेर छलफल गराइ कागज च्यातिएको संयोजक भुसालले बताए ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेपछि विभिन्न जिल्लामा गरी दुई हजार दुई सय ८९ जना पीडितले उजुरी दिएका छन् । विभिन्न जिल्लाबाट काठमाण्डौ आएर न्याय माग्दै शान्तिपूर्ण आन्दोलन सुरु भएपछि सरकारले उनीहरूलाई न्याय दिलाउनका लागि कार्यदल गठन गरेर काम गरिरहेको हो ।

यस्तै भदौ ७ गतेदेखि हिजोसम्म सात जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र सात जनामाथि अनुसन्धान भइरहेको संयोजक भुसालले जानकारी दिए ।