रुसले नियन्त्रणमा लिएकाे केही बस्तीमा आफूले कब्जा जमाएकाे युक्रेनको दाबी

रुसले नियन्त्रणमा लिएका केही बस्तीमा आफूले नियन्त्रण गरेको युक्रेनले दाबी गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबीसहित त्यसलाई सुखद समाचारको संज्ञा दिएका छन् । तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुन ठाउँहरू आफ्नो पकडमा आएका हुन् भन्ने बारेमा खुलाएका छैनन् ।

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ । तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी नदिएका बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूले युक्रेनले रुसी सेनाहरू विरुद्ध बिस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन् ।

अमेरिकाका वरिष्ठ रक्षा अधिकारी कोलिन काहलले युक्रेनी सेनाले केही क्षेत्रमा रुसी सेनाहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताउनुभएको हो । युक्रेनले पछिल्लो हप्ता पूर्व र दक्षिणमा आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण–पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन् । ती क्षेत्रमा ६ महिनाअघि युद्ध सुरु भएदेखि रुसले सैन्य नियन्त्रण कायम राखेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ७ महिना भइसकेको छ । राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलरभन्दा बढी युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी समेत दिए ।