जनगणना भोलिदेखि गरिँदै

सुर्खेत। १२ औं राष्ट्रिय जनगणना भोलिदेखि गरिँदै छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न सोधिने भएको छ । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार ५०० जना सुपरीवेक्षक खटिएका छन् ।

उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए । अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।