रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

युरोपेली संघ (ईयू)का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयूका नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको हो ।

हंगेरीको असहमतिका कारण पूर्ण प्रतिबन्ध लगाउने विषयमा लामो छलफल भएको थियो । सहमति अनुसार अब यो वर्षको अन्त्यसम्ममा ईयूले झण्डै ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ । तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको बीबीसीले उल्लेख गरेको छ ।

युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गरी तेल कटौतीको सहमतिबारे जानकारी दिनुभएको छ । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उहाँको भनाइ छ । रुसी तेल आयातमा प्रतिबन्धको प्रस्ताव सुरुमा एक महिनाअघि युरोपेली काउन्सिलले गरेको थियो ।