आज फ्रान्सेली संसदीय टोली नेपाल आउँदै

काठमाडौं । फ्रान्सेली संसदमा रहेको फ्रान्स–नेपाल अन्तर संसदीय मैत्री समूहका सभापति ड्यानियल साल्मोन र सदस्य एन क्याथरिन लोइसियर आज नेपाल आउँदै छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली संसदीय टोली नेपाल आउन लागेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले भदौ २० गतेदेखि २५ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालको अलवा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । उनीहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा। नारायण खड्का लगायतसँग समेत भेटवार्ता गर्ने दूतावासले जनाएको छ ।