भागबन्डा नमिल्दा मन्त्रिपरिषद् बिस्तारमा सकस

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बिस्तारमा ढिलाई हुने देखिएको छ । नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएको नौ दिन बितिसक्दा पनि मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् बिस्तारमा सकस देखिएको हो ।

मुख्यमन्त्री शाहीले कात्तिक १६ गते पद तथा गोपनियताको सपथ लिएका थिए । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि उनी कात्तिक १६ गते नै मुख्यमन्त्रीमा नियुक्त हुनु भएका हुन ।

तिहारलगत्तै मन्त्रिपरिषद् बिस्तार हुने भने पनि अहिलेसम्म मन्त्रालय भागबन्डामै सहमति जुटाउन दलहरुलाई सकस भएको छ ।
मन्त्रिपरिषद् बिस्तारका लागि तीन दलीय गठबन्धनबिच पटक पटक छलफल भए पनि हालसम्म कसले कति मन्त्रालय लिने भनेर टुंगो लागेको छैन् ।

नेपाली काँगेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले मन्त्रालय बाँडफाट बारे गठबन्धन दलबिच छलफल भइरहेको बताए । शिर्ष नेताहरुबिच मन्त्रालय भागबन्डाको बिचमा छलफल भइरहेकोले एक हप्तामा टुंगिने उनले जानकारी दिए ।

कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय रहेका छन् । काँग्रेसले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय, माओवादी केन्द्रले चार वटा मन्त्रालय र नेकपा (एकिकृत समाजबादी) पार्टीले तीन वटा मन्त्रालयको दाबी गरेका छन् । समाजबादीले तीन वटा मन्त्रालय नछोड्ने निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रले चार वटा मन्त्रालय नछोड्ने अडान लिएकोले सहमति जुटाउन समस्या भएको गठबन्धनकै दलका सांसदहरुले बताउँदै आएका छन् । समाजबादी पार्टीले पनि तीन वटा मन्त्रालय नछोड्ने बताएको छ ।

समाजबादीकी प्रदेशसभा सदस्य देवी ओलिले आफुहरुले तीन वटा मन्त्रालय नछोड्ने बताइन् । माओवादीले चार वटा मन्त्रालय नछोड्ने अडान गरे पछि झन सहमति जुटाउन समस्या भएको उनको भनाई छ ।

माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सिता नेपालीले माओवादी केन्द्रले चार वटा मन्त्रालय लिने बताइन् । उनले मन्त्रालय भागबन्डाका बिषयमा छलफल भइरहेको र तीन दलको छलफलबाट छिट्टै टुंगिने जानकारी दिइन् ।