पाकिस्तान : विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो, १ सय ५० जना घाइते


सुर्खेत । पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । विस्फोटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।

विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।