यू-१७ टोली श्रीलंका प्रस्थान

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका हुन् ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् ।

साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

नेपाली टोली –

गोलकिपरः क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम