भारतको मुथूट फिनकर्प र आईएमईबीच सम्झौता

काठमाण्डौ । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथूट फिनकर्प र आईएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा मुथूट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

इण्डियामा बुधबार आयोजित कार्यक्रममा मुथूट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथूट, आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस अवसरमा बोल्दै मुथूट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले मुथूटका ३ हजार ६ सय शाखाहर मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपालीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथूट फिनकर्पसँगको सहकार्यले इण्डियामा आईएमईको पहुँच विस्तार भएको बताए । आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथूट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे ।