काठमाडौं । भारतले पहिलोपटक आफैले निर्माण गरेको विमान बाहक युद्धपोत आज सञ्चालनमा ल्याउँदैछ।

भारतीय समयअनुसार बिहान साढे ९ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले कोचीन शिपयार्ड लिमिटेड कोचीमा यो युद्धपोत भारतीय जल सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
आईएनएस विक्रान्त नाम दिइएको युद्धपोत भारतले १३ वर्ष लगाएर निर्माण गरेको हो। ४५ हजार टन तौल रहेको यो युद्धपोत २ सय ६२ मिटर लामो र ६२ मिटर चौडा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यो विमानबाहक युद्धपोतमा ४ सय ५० किलोमिटर मार हान्ने क्षमताको ब्रह्मोस मिसाइल परिचालन हुनेछ । एकै साथ ३० वटा लडाकु विमान पार्किङ गर्न सकिने यो युद्धपोतबाट २९के फाइटर जेटले पनि उडान भर्न सक्नेछ भने एन्टी एयर, एन्टी–सरफेस र ल्याण्ड अट्याक गर्न सक्ने क्षमताका हतियारहरु राखिएको छ।
यो युद्धपोतमा १५ सय जवान बस्न सक्ने र उनीहरुका लागि आधारभूत आवश्यकताका वस्तुहरु राख्ने क्षमता रहेको जनाइएको छ । युद्धपोतमा ८८ मेगावाट बिजुली निकाल्न ४ वटा टवाईन जोडिएको छ। यो युद्धपोत सञ्चालनमा आएसँगै भारत सैन्य युद्धपोतमा पनि आत्मनिर्भरको सन्देश गएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

फरकबाटो १७ भाद्र २०७९, शुक्रबार ११:४३