आज देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सुर्खेत । आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको हो । । उनका अनुसार आज देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली हुने र पानी पर्ने सम्भावना रहेको हो । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।