प्रदीपले भने– ‘हामीले काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने त ?’

काठमाडौं । अभिनेता प्रदीप खड्काले फिल्म हलले ‘प्रकाश’ लाई उपयुक्त शो उपलब्ध नगराए काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने बताए । फिल्मका लागि हलले राम्रो शो उपलब्ध नगराएको बिषयमा निर्माण युनिटले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीप हल विरुद्ध  निकै आक्रमक प्रस्तुत भए ।

‘फिल्मको आउट लुक हेर्दा मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला’ उनले भने, ‘३ बजेपछि फिल्मको शो नै छैन ।’ आफ्नो घर ललितपुर भएको समेत बताएका उनले ३ बजेपछि फिल्म हेर्न चाहनेलाई शोको कारण प्लेन चढाएर विर्तामोड पठाउनुपर्ने बाध्यता बनाएको उनले सुनाए । फिल्म हेर्न जाँदा शो नै छैन भनेर हलले दर्शक फर्काएका उनको भनाई थियो ।

‘जुम्लाको समस्या र परिवेश काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्देश्यले फिल्म निर्माण गरेको भएपनि हलले राम्रो शो नदिँदा फिल्मको उद्देश्यमा बाधक भएको छ’ उनले थपे । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मलाई मल्टिप्लेक्सले  थोरै शो दिएर बलिउड फिल्म ‘लाइगर’ लाई भने उच्च शो दिएको छ । सोही कारण फिल्म युनिटले आकस्मिक पत्रकार सम्मेलन गर्दै हल सञ्चालकविरुद्ध आगो ओकलेका हुन् ।

कार्यक्रममा निर्माता महेन्द्र अधिकारीले शो बाँडफाँटमा हल सञ्चालकले विभेद गरेको गुनासो पोखे । ‘हामीले दुःख गरेर बनाएको फिल्म शो नपाएका कारण हेर्न नै नपाउने भए ?’, उनले भने– ‘मेरो धारणा यत्ति मात्र होकि हामीले बनाएको फिल्म विहान, दिउँसो र बेलुका तीनवटै समयमा दर्शकहरुले हेर्न पाउनुपर्छ ।’ उनले आफुले बनाएको फिल्म राम्रो भएको दाबी गर्दै उनले विदेशी फिल्मलाई राम्रो शो दिनुपर्छ भन्ने मात्र छ र ? प्रश्न गरे । भने–‘कस्तो फिल्म बनाउने हलवालाले सिकाउनुस् न त ।’

‘प्रकाश’ राम्रो छैन, हेरिनु हुँदैन, नेपालीपन बोकेको छैन भनेर कसैले भन्छ भने म भोलि नै फिल्म हलबाट उतार्न तयार छु । नभए एक÷दुईजनाको सिन्डिकेटले फिल्मलाई मार्नुहुँदैन’ निर्माता अधिकारीले आक्रोस पोखे ।

त्यस्तै, लेखक विकास सुवेदीले कुनै फिल्मले नेपाली समाजको कथा व्यथा बोकेर आउँछ भने त्यसलाई चल्ने फिल्म होइन भनेर ब्याख्या गरिनु गलत प्रवृत्ति रहेको बताए । नेपाली फिल्मको धार बदल्न नसकेको यस्तो सोचका कारण भएको बताएका सुवेदीले हल सञ्चालक र वितरकले कस्तो फिल्मलाई व्यावसायिक मानिरहेका छन् भन्ने कुरा अहिलेको सबैभन्दा ठूलो प्रश्न रहेको बताए ।

शिक्षक बन्ने एक युवाले गर्ने संघर्षको कथामा बनेको यो फिल्ममा मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।