केन्यासँग लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । पहिलो खेलमा जित निकालेर आत्मविश्वासी बनेको नेपाल केन्या भ्रमणमा लगातार दोस्रो जितको लक्ष्य सहित शुक्रबार प्रतिस्पर्धामा उत्रिँदैछ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध दिउँसो ३४५ मा प्रतिस्पर्धा गर्नेछ।​

बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्या विरुद्व पहिलो खेलमा सहज जित निकालेको नेपाल सोहि लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिने ध्येयमा रहेको छ। पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा रहेको छ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ।

त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुने छ। टी–२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।