सासु कुट्ने दुई बुहारी पक्राउ

अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन।

सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ।

स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन्। उनका श्रीमानसमेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुन्।