‘प्रकाश’ को जुम्ला प्रिमियरमा दर्शकको भिड

काठमाडौं । फिल्म ‘प्रकाश’ को पहिलो प्रिमियर जुम्लामा गरिएको छ । आइतबार साँझ जुम्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । १० भाद्रबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मले आइतबारका पहिलो प्रिमियर गरेको हो ।


जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोहीका स्थानीयका लागि पहिलो प्रिमियर गरिएको निर्देशक दिनेश राउतले बताए । प्रिमियरमा स्थानीयवासी, बुद्धिजीवी, राजनीतिक नेता लगायतको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए ।

प्रिमियरमा फिल्मका लेखक विकास सुवेदी सहितको टिम जुम्ला पुगेका थिए । फिल्म हेर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासीलाई निम्ता दिइएको छ ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनतालाई देखाएको बताए । ‘स्थानीयले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक राउतले भने– ‘त्यहाँबाट पाएको राम्रो प्रतिक्रियाले हामी निकै उत्साहित छौ ।’ फिल्मको ८ गते बुधबार काठमाडौं फेरि प्रेस प्रिमियर हुनेछ ।

शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बनेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आरआर फिल्मका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।