ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत – विश्वप्रकाश शर्मा

काठमाण्डौ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले लेखेका छन्– ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौँ हामी, संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

कांग्रेसकै अर्का महान्त्री गगन थापाले पनि संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको हो  ।