बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा

काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । उनले राजीनामा बुझाएपछि पार्टीका सबै विधायक र सांसद अहिलेको गठबन्धनबाट अलग हुन चाहेको बताए ।

गठबन्धनमा संलग्न भारतीय जनता पार्टी (बीजेपी) सँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज विधायक र सांसदको बैठक बोलाएको थियो । लोकसभाका सांसद र सबै विधायकसँगको बैठकमा अहिलेको गठबन्धन एनडीए छाड्नुपर्छ भन्ने विचार आएकोले त्यसलाई स्वीकार गरेर आफूले राजीनामा दिएको उनले बताए । अब नितिश कुमारले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन् । यसैबीच भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै मुख्यमन्त्रीले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ ।