सार्वजनिक पदमा बस्नेहरु नै हिंस्रक

दैलेखको भैरवी गाउँपालिका ३ की (क) सांकेतिक नाम, २७ वर्षकी भइन् । उनले दुईवर्ष अघि सोही ठाउँका एक प्राथमिक विद्यालयका स्थायी शिक्षक संग बिवाह गरिन् । करिब दुईवर्ष प्रेम सम्बन्धमा रहेर उनीहरुले बिवाह त गरे तर उनका शिक्षक श्रीमान्ले बिवाहकै दिनदेखी अपहेलना सुरु गरे ।

‘बिवाह गरेर मलाई अमाजु दिदिको घरमा छोडेर आँफु अन्तै जानुभयो’ उनले भनिन् “ पछि घरमै नआउने र गालीगलौज मात्रै गर्नुहुन्थ्यो । घरपरिवारले समेत मलाई स्वीकार गर्नुभएन । भोकै पर्न थालेपछि वडाअध्यक्ष तथा गाउँका व्यक्तिहरुको साहारामा अदालतमा मानाचामलको मुद्धा दर्ता गरेँ ।”

महिनाको करिब ३० हजार भन्दा बढी तलब बुझ्ने भएपनि जिल्ला अदालत दैलेखले महिनाको ६ हजार दिनेगरी फैशला सुनाएपनि आजसम्म उक्त रकम पाउन नसकेको उनले गुनासो गरिन् ।

अहिले जिल्ला अदालत दैलेखमा उनका शिक्षक श्रीमान्ले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका छन् । उनी थप्छिन्‘मलाई सम्बन्ध विच्छेद गर्न मन छैन । तर अदालतको फैशला उसकै पक्षमा आयो भने के गर्ने ? उनी प्रश्न गर्छिन् ।

आफ्नो कुनै गल्ति नभएको भएपनि श्रीमान्ले गरिबकी छोरी, कुरुप जस्ता आरोप लगाउने गरेको उनले सुनाईन् । पढाईमा बि.वि.एस् पास गरेकी उनी बेसाहारा जस्तै बनेकी छन् ।

धनगढीकी (ख) सांकेतीक नाम हुम्लाका माध्यामीक तहका शिक्षकसंग बिवाह गरिन् । हुम्लामा काम गर्न नसकेको भन्दै उनकी सासुले काम गर्ने बुहारी भित्राउन छोरालाई दबाब दिएपछि उनका श्रीमान्ले सोही गाउँबाट बिवाह गरे ।

श्रीमान्ले दोस्रो बिवाह गरेपछि उनी सुर्खेतमा बस्न थालेकी छन् । दुई छोरा र एक छोरीका आमा उनी भन्छिन्“ दोस्रो बिवाह गरेपछि उहाँले पनि जागीर छोड्नु भयो । कान्छी श्रीमतीलाई वीरेन्द्रनगर १२ मा घर बनाएर राख्नुभएको छ । तर म र मेरा छोराछोरीका बिचल्ली भएको छ ।” श्रीमान्का विरुद्ध अदालत गएपनि पहुँचका आधारमा उहाँकै जित हुन्छकी भन्दै मुद्धा दर्ता नगरेको उनी बताउँछिन् ।

लेशवेशी नगरपालिका वडा नं छ बस्ने २० वर्ष की (ग) सांकेतिक नाम , उनको प्रेम विवाह भएको हो । २०७३ भदै २३ मा बिवाह गरेकी उनलाई श्रीमान्ले जागीर नखाँदा सम्म सबैले माया गरे । जब उनका श्रीमान भारतीय सेनामा भर्ती भए अब उनी काली, गरीब र अनपढ हुन थालिन् । उनलाई उनका भारतीय सेना श्रीमानले कुटपिट गर्ने, यातना दिने, वास्ता नगर्ने गर्न थालेको तीन वर्ष भयो ।

अहिले उनी जिल्ला अदालत सुर्खेतमा न्याय खोज्दै आएकी छन् । रितपुर्वक विवाह गरेको भएपनि अहिले परिवारले बिवाह नभएको भन्दै प्रतिउत्तर दिएको उनले सुनाईन् ।

यती मात्रै होइन दैलेखकी (घ) नेपाल प्रहरीमा कार्यरत छिन् । उनका श्रीमान् समेत नेपाल प्रहरी हुन् । तर डियुटी बसेकै समयमा उनका प्रहरी श्रीमान् उनलाई तथानाम गाली गर्दै हत्या सम्मको प्रयास गर्दै आएका छन् ।

दैलेख जिल्लाकै (ङ) सामाजिक अभियान्ता हुन् । उनका श्रीमान् समेत राम्रो परिचित वकिल हुन् । तर श्रीमती सामाजिक अभियान्ता भएकै कारण उनलाई कुटपिट गर्ने, विभिन्न आरोप लगाएकै कारण उनी सम्बन्ध विच्छेद गर्न बाध्य भईन् ।

यी त केही उदाहरण मात्रै हुन् । नेपाल सरकारका उच्च पदमा बस्नेहरुनै महिला हिंसा तथा दुव्र्यवहारमा अगाडी देखिन्छन् । कतीपय प्रहरी, पत्रकार, वकिल, शिक्षक लगाएत निजामती क्षेत्रका पुरुषहरुले समेत श्रीमती र सहकर्मीहरुलाई हिंसा र दुव्र्यवहार गरेका थुप्रै घटनाहरु बाहिर आएको पाईन्छ ।

यस विषयमा अधिवक्ता गिता कोइरालाले पदमा बसेकै कारण हिंसा गर्ने भन्दा पनि हिंस्रक स्वभाव भएका व्यक्तिहरुले सार्वजनिक पद धारण गरेको बताईन् । ‘उनीहरुको पदले हिंसा र दुव्र्यवहार गर भन्दैन’ उनले भनिन् “पदमा पुगेपछि अह्मता बढ्नु, कानुन जानेर कानुन नटेर्नु, नैतिकता बिर्सनुले यस्तो हुन्छ ।”

गाउँका सोझा नागरिकहरुलाई बरु कानुनको डर हुन्छ । कानुन जानेकै र कार्यान्वयन गराउने ठाउँमा बसेकाहरुले नै हिंसा गर्ने गरेको उनले बताईन् ।

सर्वसाधारण व्यक्ति भन्दा सार्वजनिक पदमा बसेका व्यक्तिहरुले कुनैपनि कसुर गरेमा त्यसको थप सजाय कानुनमा तोकिएको हुन्छ । तरपनि कानुनको कार्यान्वयन पक्ष कमजोर र न्याय क्षेत्रमा समेत राजनितिकरण घुसेकै कारण सार्वजनिक पदमा बस्नेहरु नै हिंस्रक बनेको पाईन्छ ।