भारतमा बडिगार्डको घेरमा प्रदीप

फिल्म ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन अहिले भारतमा रहेका छन् । फिल्म नेपालसँगै भारतमा पनि प्रदर्शन हुने भएपछि प्रचार प्रसारका लागि उनीहरु केही दिन पहिले त्यहाँ पुगेका हुन् ।

फिल्म प्रचार प्रसारका लागि उनीहरु त्यहाँका मिडिया, वितरण लगायतको भेटघाटमा छन् । मुम्बईका गतिविधिको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । सो क्रममा अभिनेता प्रदीप खड्कालाई बडिगार्डको घेरमा देख्न सकिन्छ ।

प्रदीपका लागि बडिगार्डको ब्यवस्था हाइली ट्रेन्ड एण्ड क्वालिफाइट सेक्युरिटी टिमले गरेको छ । जुन टिमले बलिउड कलाकार अक्षयकुमार, सैफअलि खान लगायत थुप्रै सेलिब्रेटीलाई बडिगार्ड सुरक्षा दिँदै आएको छ । भारतमा प्रदीपको बढ्दो क्रेजका कारण बडिगार्ड राख्नु परेको निर्माता निर्देशक सन्तोष सेनले बताए । ‘फिल्मको अधिकारी प्रसार सुरु भएपछि भारतमा पनि फिल्मको क्रेज बढ्दो छ । फिल्मसँगै कलाकारको क्रेज त देखिने भयो नै’ सेनले भने– ‘भीडभाडबाट कलाकार जोगाउन बडिगार्डको ब्यवस्था गरिएको हो ।’

हुन त प्रदीप बडिगार्डको घेरामा देखिएको यो पहिलो पटक भने होइन । केही वर्ष अगाडि काठमाडौंमा फिल्म ‘लिलिबिली’ घोषणा कार्यक्रममा पनि उनी बडिगार्डको सुरक्षामा पुगेको थिए । त्यो समय उनले बडिगार्ड राखेको बिषयमा विभिन्न गसिप बनेका थिए ।

फिल्म असोज ७ गते नेपाल र भारतसहित विश्व बजारमा एकसाथ रिलिज हुन लागेको हो । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हो । अहिले दिल्ली र मुम्बईका सडकमा समेत फिल्मको ठुला ठुला होर्डिङ देख्न सकिन्छ । हल रिलिजपछि फिल्म अमेजन प्राइममा पनि रिलिज हुने निर्माण युनिटले जनाएको छ ।