कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन

कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको  छ ।

वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ ।

सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिन्छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् । लगातारजसो भइरहने प्रतिबन्धका कारण जनजीवन प्रभावित बन्दै आएको छ । वुहानको जनसङ्ख्या १ करोड २० लाख छ ।

सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेका थिए । अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् । ६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियामा पनि एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । मलेसियामा पनि कोरोनाका बिरामी बढेका छन् । मलेसियाको पछिल्लो विवरण अनुसार विभिन्न भागमा गरी चार हजार सात सय नयाँ बिरामी थपिएका छन् ।