सुर्खेत । बुधबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीमा सरुवा भएर आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) पोषराज पोखरेल संग कर्णालीका पत्रकारहरुको परिचयात्मक कार्यक्रम आयोजना गर्र्यो ।
जसमा वीरेन्द्रनगर सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका करिब ३५ जना बढी पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा पत्रकारहरुले सरुवा भएर आएका डिआइजीलाई गुनासै गुनासो सुनाए ।
जुम्ला घर भएका रेवतीरमन न्यौपानेले डिआईजी पोखरेललाई कर्णाली राजमार्गलाई मृत्युमार्ग भनेर चिनाउनुमा ट्राफिक प्रहरीको समेत हात रहेको सुनाए । कर्णाली राजमार्गमा चल्ने सवारी साधनहरुमा सिट क्षमता भन्दा जती बढी यात्रु कोचेपनि ट्राफिक प्रहरीले चेक नगर्ने गरेको गुनासो उनले गरे ।
यती मात्रै होइन सवारी साधन अनुमतीपत्र नलिएर अटो चालकहरुले सडकनै जाम गर्ने र मनोमानी भाडा असुल्दा समेत ट्राफिक प्रहरीले केही गर्न नसकेको गुनासो सुनाए ।
ट्राफिक प्रहरीले महिनावारी रुपमा सवारी चालकहरुबाट रकम असुल्ने गरेको कार्यक्रममा सहभागी पत्रकारहरुले प्रमाण नै आँफुहरुसंग भएको बताए ।
पत्रकार नविन शाहीले प्रहरी देखेपछि नागरिकले सुरक्षित महशुष गर्नुपर्नेमा डराएर भाग्नुपर्ने अवस्था सृजना गरिएको गुनासो गरे ।
पत्रकार सुदीप पुरीले प्रहरीले लागुऔषध बरामद गरेर कहाँ राख्छ ? यसमा कतै प्रहरीकै मिलोमतो त हुँदैन ? भन्दै प्रश्न गरे ।
उनले ट्राफिक चेकिङ्गको नाममा समेत कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले कानुनी प्रक्रिया विपरित कुनै संकेत नै नराखी चेक गर्ने गरेको सुनाए ।
‘ट्राफिक चेकिङ्गको मापदण्ड के हो ? उनले प्रश्न गरे “जहाँ साँघुरो, टर्निङ् र अप्ठ्यारो छ त्यस्तो ठाउँमा चेकिङ्ग राखेर नागरिक तर्साउने ? उनले मा.प.से गरेकाले जरिवानाको रसिद काटेपछि जान दिँदा उ सुरक्षित हुन्छ ? भन्दै पुन प्रश्न थपे ।
नागरिकको ज्यु ज्यानको सुरक्षाको लागि ट्राफिक चेकिङ्ग हो भने जरिवानाको रसिद होइन नागरिकलाई सुरक्षित गर्नेगरी सुरु अवस्थामै रोक्नुपर्ने उनले धारणा राखे । सडकमा प्रर्याप्त ट्राफिक संकेतहरु नहुँने तर चेकिङ्गको नाममा नागरिक तर्साउनु राम्रो नभएको उनले बताए ।
यात्रा सुरु हुने स्थानबाटै राम्रो ट्राफिक चेकिङ्गको व्यवस्थापन गरेर गन्तव्यमा पठाउने व्यवस्था हुनुको साटो यात्रुलाई बिचबाटोमा अलपत्र पार्ने खालको व्यवहार देखाउन नहुने पुरीले गुनासो गरे ।
पत्रकार रमेश कुमार पाण्डेले समेत बजारका कुनैपनि स्थानमा ट्राफिक संकेत नराखी जथाभाबी साईरन बजाउँदै ट्राफिक प्रहरीले दादागिरी गर्दै सोझासाझा नागरिकहरुलाई जरिवाना गर्दै हिँडेको गुनासो गरे ।
‘पहिले ट्राफिक संकेत राख्नुपर्छ होला’ उनले भने“त्यसपछि त्यसको उलघंन गरेको खण्डमा कार्रबाही । तर सुर्खेतमा ट्राफिक प्रहरीले मनपरी गरेको छ ।”
प्रहरीले लागुऔषध तस्कर नियन्त्रण, नागरिकलाई सुचनाको सहज पहुँच, विपद् वा अन्य समयमा घटनास्थलमा समयमै उपस्थिती हुनुपर्ने, बालविवाह, घरेलुहिंसा लगाएतका क्षेत्रमा काम गर्नुपर्ने सुझाब पत्रकारहरुले डिआईजीलाई दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले समेत नागरिकलाई सुरक्षित महशुष हुनेगरी कर्णालीका प्रहरीले काम गर्नुपर्ने, कर्णालीका कच्ची सडकहरुमा रुट प्रमिट नलिएर सवारी साधन चलेकोले त्यसलाई रोक्नुपर्ने सुझाव दिए ।
पत्रकारहरुले दिएका सुझावलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेलले मातहतका प्रहरी कार्यालयहरुसंग समन्व्य गरेर कर्णालीका नागरिकलाई सुरक्षित महशुष हुनेगरी काम गर्ने प्रतिवद्धता दिए ।
उनले आँफु कर्णाली आउनुको उदेश्य सुनाउँदै लुम्बिनी प्रदेशमा रहेको कर्णालीका प्रहरी संरचना र एकहजार भन्दा बढी जनशक्ति भित्राउने रहेको बताएका छन् ।



फरकबाटो २९ असार २०७९, बुधबार १९:५५