श्रीलङ्कामा आर्थिक सङ्कट समाधानका लागि कर बढाउने घोषणा

श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गरेको छ । देश आर्थिक सङ्कटमा फसिरहेकोले त्यसलाई सुधार गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र व्यावसायिक आयकर बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ ।

भ्याट आठ प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्‍याउने घोषणा गरिएको छ भने व्यावसायिक आयकर २४ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याउने प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यस्तै व्यक्तिगत करदातालाई दिइँदै आएको राहत पनि कटौती हुने छ । कर बढाएर केही हप्ताभित्रै अन्तरिम बजेट प्रस्तुत गर्ने भन्दै विज्ञप्तिमा सन् २०२२ मा राजस्व सुधारबाट सुदृढ आर्थिक योजना कार्यान्वयन गर्नु र सही ढङ्गले खर्च व्यवस्थापन गरिनु आवश्यक रहेको बताइएको छ ।

श्रीलङ्काको तथ्याङ्क कार्यालयले मे महिनामा मुद्रास्फीति बढेर ३९ दशमलव १ प्रतिशत पुगेको र यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च रहेको जनाएको छ ।