पुलिसले एपीएफलाई हरायो

काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो ।  सुरुआती दुई सेट २५-२०,२५-२३ ले पुलिसले जितेको थियो । तेस्रो सेट एपीएफ २५-१७ ले आफ्नो बनायो । तर, चौंथो सेट २५-१६ ले जित्दै पुलिसले सुखद सुरुआत गरेको हो ।

यस अघि पहिलो खेल त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको थियो ।

आर्मीले एभरेस्टमाथि २५-१९, २५-७ र २५-१८ को सेटमा जित निकालेको हो । अब पुरुषतर्फको खेल हुनेछ ।

आज हुने पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ । पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट क्लब रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।