श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो

आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग पुनकर्जाको विषयमा छलफल थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

श्रीलङ्काले चीनलाई साढे तीन अर्ब डलर तीन बाँकी रहेको छ । चीनको पुरानो ऋण तिर्न सहज बनाउने र नयाँ ऋणको विषयमा छलफल भइरहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नालाका गोदाहेवाले बताउनुभएको खबरमा उल्लेख छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि गएको जनवरीमा चीनका विदेशमन्त्रीको भ्रमणका बेला ऋणमा परितर्वन गर्न आग्रह गर्नुभएको थियो । मन्त्री गादाहेवाले विश्व बैंकले यसअघि नै सहयोगको वाचा गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न सहयोग गर्ने वाचा गरेपछि अरू देश पनि ऋण तथा सहयोगका लागि सकारात्मक बनेको बताउनुभएको छ ।

श्रीलङ्काले विभिन्न देश र दातृ निकायलाई ५१ अर्ब डलर ऋण तिर्न बाँकी रहेको छ तर देश आर्थिक सङ्कटमा फसेपछि उसले तत्कालै कुनै पनि ऋण नतिर्ने घोषणा गरेको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा अत्यावश्यक सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । अभाव र महँगीले कयौँ नागरिक गरिबीमा धकेलिएका छन् ।