युक्रेनको मारिओपोल सहर कब्जामा लिएको रुसको दाबी

रुसले युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गर्नुभएको र अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिए पनि अब आक्रमण र बम वर्षा नगर्न पनि पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिनुभएको छ । तर उहाँले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिएनन् ।