विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक काठमाण्डाैमा

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा। टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी आज नेपाल आइपुगेका हुन् ।

भ्रमणका क्रममा नेपालमा रहँदा महानिर्देशक गेहब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोलि शनिवार भेट हुनेछ ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै उनले हनुमानढोका दरबार स्क्वायर, पाटन हाइस्कुलको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । भ्रमण सकेर महानिर्देशक गेहब्रेयससको टोली पर्सि आइतवार बिहान फर्कने तालिका छ ।