चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न अमेरिकालाई चीनको आग्रह

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ । चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीको संख्या र परिचय भने खुलाइएको छैन ।

अमेरिकी अधिकारीले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमलाई बन्दी बनाईएको दाबी गर्दै आएका छन् । अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको र यो दुईपक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी कदमको दृढतापूर्वक विरोध गर्ने पनि वाङको भनाई छ ।