हामी महिला कहिलेसम्म कुटिनुपर्ने हो ?

सुर्खेत । ‘हामी परिवर्तनका कुरा गर्छौं तर महिलाहरु दैनिक हिंसा सहेर बस्नुपरेको छ । एउटा महिलाले गल्ति गरेपनि अर्को महिला सोही कारण कुटिन्छिन् ।’ हामी महिला यसरी कहिलेसम्म कुटिनुपर्ने हो ? यो प्रश्न थियो सिम्ता गाउँपालिका सुर्खेतकी कमला बि.कको ‘नाम परिवर्तन’ ।

मंगलबार सिम्ता गाउँपालिकामा आयोजित लैगिंक विभेद र बालविवाह बहस कार्यक्रममा उनले खुलेरै प्रश्न गरिन् । महिला भएकै कारण दैनिक श्रीमानबाट कुटिनुपरेको पिडा उनले कार्यक्रममा सुनाईन् ।

‘सरकारले पिडित महिलालाई संरक्षण गर्नका लागि कस्तो निति बनाएको छ ? उनले थप सोधिन् “अब हामीहरु धेरै सहेर बस्न सक्दैनौं । हामीलाई बाटो देखाइदिनुप¥र्यो ।”

‘सामाजिक न्याय र लैगिंक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ मंगलबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा कमलाले मात्रै होइन सिम्ता गाउँपालिका २ की सपना शाहीले पनि उस्तै प्रश्न गरिन् । हरेक वर्ष राम्रा नारा बनाई महिला दिवस मनाइन्छ तर ग्रामीण महिलालाई यस्तै नाराले कहिले न्याय दिन्छ ?

कार्यक्रममा सहभागि अधिकाँश महिलाहरुले महिलाहरुलाई ज्यालामा विभेद, कार्यस्थलमा हिंसा, बालविवाह, घरेलुहिंसा हुने गरेको बताएका थिए । यसका लागि संघसंस्था तथा राज्यका तर्फबाट पहल गरिदिन समेत कार्यक्रममा सहभागि महिलाहरुले आग्रह गरेका थिए ।
सिम्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप (म्याग) सोलिडारिटी सेन्टर, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केड नेपाल लगाएतका संस्थाहरुले सहकार्य गरेका थिए ।

करिब तिनसय महिलाहरुको सहभागितामा आयोजित कार्यक्रममा वक्ताको रुपमा रहेका सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कबिन्द्रकुमार केसीले जन्मदेखिनै महिलाहरुमा विभेद भएको कारण सबै मिलेर विभेदसंग लड्नुपर्ने धारणा राखे ।

यस्तै वक्ताको रुपमा रहेका अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले समेत कर्णालीका प्राय महिलाहरुको अवस्था उस्तै भएको धारणा राखे । उनले महिलामाथी हुने विभेद विरुद्ध घर–घरबाटै आवाज उठाउनुपर्ने तर्क गरेका थिए ।

कार्यक्रममा वक्ताको रुपमा सिम्ता गाउँपालिकाकी उपप्रमुख चन्द्रकला शाही, केड नेपालकी कार्यकारी निर्देशक समिता प्रधान लगाएत रहेका थिए ।