सुर्खेतमा ग्याविन तारजाली उद्योग संचालन

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा ग्याविन तारजाली  उद्योग संचालनमा ल्याइएको छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालिले उद्योग संचालनमा ल्याएको हो ।

१५ करोड लगानीमा व्यवसायी पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले उद्योग संचालनमा ल्याएका हुन् । उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले चिनमा बनेको अन्तराष्ट्रिय मापदण्ड तथा अत्याधुनिक मेसिनबाट गुणस्तरीय ग्याविन तारजाली उत्पादन सुरु गरिएको जानकारी दिए । उक्त मेसिले प्रतिदिन नौ हजार छ सय वर्गकिलोमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्ने अध्यक्ष रेग्मीले बताए ।

सडक, पुल पुलेसा निर्माण, कृषि व्यवसाय सुरक्षा र संरक्षणका लागि घेरबारका कार्यमा तारजाली प्रयोग हुँदै आएको छ । अब उद्योग संचालन भएकाले स्थापना भएपछि बाहिरबाट तारजाली ल्याउनुपर्ने बाध्यता हटेको छ ।

हाल उद्योगमा अप्रत्यक्ष र प्रत्यक्ष रुपमा ४० जनालाई रोजगारी पाएका छन् । अबको एक वर्ष भित्रमा ६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने योजना रहेको अध्यक्ष रेग्मीले जानकारी दिए । उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको र अन्य साईजको अर्डर भएमा उत्पादन गरिने जनाएको छ ।

उद्योगको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णालीको विकासका लागि उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।  उनले स्थानीय उत्पादनलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले नीजि क्षेत्रलाई उद्योगमा लगानी गर्न आग्रह गर्दै सरकार सधै नीजि क्षेत्रको साथमा रहेको बताए ।

उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावत, वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीव नारायण बन्जाडेलगायतको सहभागिता रहेको थियो ।