रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

एजेन्सी । रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ ।

युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले रुसी सेनालाई रोक्नका लागि सबै उपायहरू गरिरहेको बताएको छ ।