भारतले ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो

एजेन्सी । भारत सरकारले देशको सुरक्षाका लागि खतरा बताउँदै चीनको ५४ वटा एप्स बन्द गरेको बीबीसीले जनाएकाे छ ।

भारतको सूचना प्रविधी मन्त्रालयले आज सोमवार ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउँदै यी एप्सले प्रयोगकर्तासँग विभिन्न महत्त्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा सङ्कलन गर्ने गरेकाे बताएकाे छ । ‘यिनमा रिलयटाइम डाटाको दुरुपयोग भइरहेको छ र विरोधी देशमा रहेका सर्भरलाई पठाइने गरिएको छ’, मन्त्रालयले विज्ञप्तिमा भनेकाे छ ।

भारतमा बन्द गरिएका ५४ वटा एप्समा स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, गरेना फ्री फायर–इल्युमिनेट, भाइभा भिडियो एडिटर, टेनसेन्ट एक्सरिभर, ओनमायोजी एरिना, एपलक र डुअल स्पेस लाइट जस्ता नाम रहेका छन् ।

गएको वर्षको जुनमा भारतले देशको सम्प्रभुता र सुरक्षाका लागि खतरा रहेको बताउँदै टिकटक, विच्याट र हेलो सहित ५९ चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० मेदेखि चीनसँगको सीमा विवादका बीच भारतले अहिलेसम्म तीन सय २१ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ ।

गएको वर्षको जुनमा पहिलो पटक चिनियाँ एप्समाथि प्रतिबन्ध लगाइएको थियो । पूर्वी लद्दाखको गलवान उपत्यकामा चीनसँग भएको हिंसक सैन्य झडपको २० दिनपछि भारतले चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।