टी–२० विश्व कपको छनोट खेल्न नेपाली टोली ओमान

काठमाडौं । टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ ।
दिउँसो युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेका थिए । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गरेका हुन् ।

ग्लोबल छनोटको समूह ’ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ’बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट खेल फेब्रुअरी १८ तारिखदेखि हुँदैछ । दुवै टोलीबाट शीर्ष दुई टोली सेमिफाइलनमा जानेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।

छनोटअघि नेपालले ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय शृङ्खला खेल्नेछ । यसैबीच विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्ने नेपाली टोलीमा सागर ढकाल पनि समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ओमान भ्रमणमा जाने दिन आज नै ढकालको नाम पनि सार्वजनिक गरेको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ढकाल थपिएसँगै ओमान जाने खेलाडीको सङ्ख्या १७ जना पुगेको छ ।