काठमाडौं । पछिल्लो समय शेयर बजार लगातार बढ्दो क्रममा रहेको छ। मंसिर २७ गते २२८१।६७ अंक छोएर माथि उक्लिन सुरु गरेको शेयर बजार मंगलबारसम्म ५५२.४६ अंकको छलाङ मारिसकेको छ। जुन २४.२१ प्रतिशतको वृद्धि हो।
बजारमा बिस्तारै खरिद र बिक्री दुवै चाप बराबर जसो देखिएको छ। पछिल्लो समय चलाख लगानीकर्ताहरूले अपट्रेन्डको कन्फरमेसन आएसँगै बजारमा खरिद आदेश बढाउन थालेका छन् भने यस अघि ३२ सयको विन्दुमा चढ्दै गर्दाको क्रममा शेयर किनेका लगानीकर्ताहरूले साँवा आयो भन्दै भटाभट शेयर बिक्री गरिरहेका छन्। तर यस्तो अवस्थामा भने शेयर किन्नेले नै बढी फाइदा गर्ने प्राविधिक विश्लेषकहरूको विश्लेषण छ।
बजार बढ्दो ट्रेन्डमा रहँदा साँवा आयो भनेर शेयर बिक्री गर्नेले कहिले पनि कमाउँदैन। त्यति धेरै समय पर्खिएर नाफा आउने बेलामा शेयर बिक्री गर्नु भन्दा बढ्दो ट्रेन्डको मजा लिनु नै लगानीकर्ताकोलागि फलदायी हुने विश्लेषण छ।
शेयर किन्ने र बेच्ने बिचको तीव्र प्रतिस्पर्धा कारण शेयर बजार लगातार बढ्दो ट्रेन्डमा देखिएको छ। जसरी बजारले एक पछि अर्को विन्दु पछ्याउँदै गइरहेको छ। त्यसले आउने दिनमा अर्को नयाँ रेकर्ड कायम गर्छ भन्ने अनुमान बजारमा गर्न थालिएको छ।
फरकबाटो २८ पुष २०७८, बुधबार १०:४६