
छोरी, तिमीले पुरातन संस्कार सोह्रै आना स्वीकार गर त म भन्दिन
तर आधुनिकताको नाममा आफ्नो सभ्यता र सस्कारलाई बिर्सेर,
पश्चिमीकरणलाई सहर्ष स्वीकार पनि नगर्नु ।
छोरी, संसार चिहाउन तिमीले आफ्नो घुम्टो उघार्नै पर्छ ।
तिम्रा तेजिला आँखा र तिम्रो मस्तिस्कले
यो दुनियालाई हेर्न मात्रै होईन,फेर्न पनि सक्छौ ।
यो संसारका बन्धनरुपि ग्रेटवालहरुलाई नाघ्दै
समस्त मानवजातिलाई एकताको शुत्रमा बाँधिराख्न
असम्भव केही छैन तिम्रालागि,
तिमी आवाज ठुलो पारेर बोल्नै पर्देन,
सानो तर दमदार ओजश्वी बोलि नै
गोली भन्दा शक्तिशाली हुन्छ ।
तिमी हतियार बोकेर युद्ध मैदानमा ओर्लन पर्दैन,
तिम्रा कर्महरुनै हतियार हुनेछन् ।
तिमीले बन्द्क होईन कलम समाउनु पर्छ ,कुरा होइन काम गर्नु पर्छ ।
तिमी समानताको सिद्धान्त होईन व्यवहारिक लडाँई लड्न सक्नुपर्छ ।
बल र घमण्डले होईन, सिप र साधनाले भाग्य कोर्नु पर्छ ।
छोरी, तिमीभान्सा देखि मन्त्रालयसम्म कुचो देखि कलमसम्म,
गृहणी देखि गृहमन्त्रीसम्म पुगेर भुमिका निभाउनु पर्छ ।
तिम्रा कोमल हातले कठोर समस्याहरु समाधान गर्नुपर्छ ।
तिमी हिड्ने बाटाहरुमा तिम्रो यौवनता, कोमलता र सुन्दरताको पछी लागेर,
बाटो विर्सेर ,कर्तब्य भुलेर ,जिस्काउने र हेप्नेहरुको कमि नभएको यो वस्तीमा
तिमीले लात र हात नउठाइ व्यवहारले दनक दिनुपर्छ ।
रिस र आवेगले होईन बुद्धि र व्यवहारले सबक सिकाउनुपर्छ ।
छोरी, यहाँ आफु मात्र असल बन्न गाह्रो छैन,
तर आफुलाइ हेर्ने आँखाहरु असल बनाउन गाह्रो छ ।
कुनै असहज यात्रा सहज बनाउन कठिन छैन,
तर यात्रा तय गरेर शुरुवात गर्न कठिन छ ,
तिम्रा आँखाहरुमा असल र खराब छ्टाउने रेटिनाहरु जोडीनुपर्छ ।
तिम्रो यात्राको दुरी निर्धारण गर्न मस्तिस्कमा माईलस्टोन हरु ठड्याउनु पर्छ ।
छोरी तिमी समयअनुसार चल्ने मात्रै होईन,
युगलाई नै बदल्ने हिम्मत गर्नूपर्छ ।
तिम्रा सन्तानले डाँडाकाँडा ढाकुन भन्दिन म,
तर तिम्रो अनपामरी संघर्षले
विश्व शान्ति छाउन र समाजको हरेक क्षेत्रमा
समानताको उपस्थिती सहित, प्रत्येक नेपाली छोरीहरुले
तिम्रो अनुसरणमा लाग्ने प्रेरणाको मार्गदर्शक बन्न सकुन
छोरी तिमीलाई यही छ, बडादशैँको शुभकामना ।
सरस्वति अधिकारी पन्त, वीरेन्द्रनगर सुर्खेत ।
सरस्वति अधिकारी पन्त
वीरेन्द्रनगर, सुर्खेत
फरकबाटो २४ आश्विन २०७८, आईतवार १२:२५